हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

Monday May 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय टोली गठन गरेको छ।
गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको हो। मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार छानबिन टोलीलाई तत्काल कार्यक्षेत्रमा खटिन तथा यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटना सार्वजनिक हुनासाथ गृह मन्त्रालय सक्रिय भएको र हुम्ला तथा बाजुरा दुवै जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका विशेष टोली परिचालन गरिएको जनाएको छ।
सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ। यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।
विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग पटक–पटक समन्वयात्मक बैठक आयोजना गरी पहल अघि बढाएको पनि जनाएको छ।
गृह मन्त्रालयले आम नागरिकको जीवन रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।
जेठ ५ गते बाजुराको लाम्पाटामा धनगढीका मेयर गोपाल हमालको टोली हुम्लाका स्थानीयबाट लखेटिएको थियो। लाम्पाटा–रानीसैन क्षेत्र हुम्ला जिल्लामा पर्ने भन्दै “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ“ अभियनको टोलीलाई रानीसैन जानबाट हुम्लीहरूले रोकेका थिए भने स्थानीयलाई कुटपिट गर्दै बन्धक बनाएका थिए।
हुम्लीहरूले बाजुरामा प्रवेश गरेर वर्षौदेखि ज्यादती गर्दै आएको थाहा पाउनासाथ मेयर हमालले घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन गर्न माग गरेका थिए।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका