कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
पढ्न लाग्ने समय :
कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियाबाट ९७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बर्दगोरिया–२ का २४ वर्षीय प्रवेश चौधरी र २६ वर्षीय सञ्जय कुस्मी रहेका छन्। इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सालघारी मदन आश्रित टोलबाट १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित १८ वर्षीय एक किशोरलाई सोमबार साँझ पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट सालघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।
त्यसैगरी, भीमदत्त नगरपालिका–६, ऐठपुरबाट २ ग्राम ३९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भीमदत्त–१० का २२ वर्षीय मनोज कार्की पक्राउ परेका छन्। उनलाई पनि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट सालघारीबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।