वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु
पढ्न लाग्ने समय :
गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन् ।
सो अवधिमा सबैभन्दा बढी अर्थात् एक हजार २४ आगलागीका घटना भएका छन् । सर्पदंश ७१६, चट्याङ २३१, लेक लाग्नु ५७, पहिरो ६८५, जनावर आक्रमण २२५, बाढी २००, हुरीबतास ४८०, भारी वर्षा २२७, डढेलो १९१, डुंगा पल्टनु र विस्फोटका समान एक–एक घटना भएका छन् ।
त्यस्तै, असिना र भूकम्प चार–चार छन् भने अन्य पाँचवटा घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ । विपद्का कारण पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन् ।
विपदबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने, सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपद्का घटना घटेका छन् । विपदमा परेर एकजनाको ज्यान गएको छ भने २० घाइते भएका छन् । विपद्का कारण देशभरका २५ जिल्ला प्रभावित भएका छन् । देशका दुई सडक अवरुद्ध हुन पुगेको छ । विपद्का कारण रु २७ लाख २५ हजारबराबरको अनुमानित क्षति भएको छ । उद्धार, राहत लगायतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो । रासस