४४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दै सीता

Thursday March 21, 2024

पढ्न लाग्ने समय :


दाङ । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनले अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्।

“मलाई पढ्न लेख्न आउँदैनथ्यो । अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले  अगाडि बढ्न सजिलो भएको छ ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो । अहिले सजिलो भएको उनले अनुभव सुनाइन् ।

सीताले जागीर खानका लागि पढेकी हाेइनन् । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनको भनाइ छ । उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन् । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन् ।

“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदैछु”, उनले भनिन्, “मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।”

पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छिन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ ।

सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन् । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताइन् ।

सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयकी शिक्षिका सुनिता शर्माले बताइन्। पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको सीताले सुनाइन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।