अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित
पढ्न लाग्ने समय :
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि विभिन्न जिल्लामा सवारीसाधनको आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोसम्बन्धी विवरण सार्वजनिक गर्दै देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको हो ।
बीपी राजमार्गमा राति १० घण्टा आवागमन बन्द
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।
उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।
विभिन्न राजमार्ग पहिरोले अवरुद्ध
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो, लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही गाउँपालिकाको धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूस्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक खुलाउन समन्वय
प्रहरीका अनुसार अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातार वर्षा भइरहेकाले सडकमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिम भएका सडकखण्डको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।