सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो
पढ्न लाग्ने समय :
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। उनको पेटमा गोली लागेको थियो।
यसअघि सोही घटनामा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। जयप्रकाशको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
प्रहरीका अनुसार घटनामा घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मृतक जयप्रकाश मेहता सिटी सफारी चालक रहेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरीका विभिन्न स्थानमा कर्फ्यू जारी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।