सुदूरपश्चिम स्रोतसाधनको हिसाबले समृद्ध : प्रदेशका प्रमुख मियाँ

Saturday April 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशमा प्रशस्त सम्भावना रहेको बताए ।

नेपाल वितरक महासङ्घको १४औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले भने, “सुदूरपश्चिम प्रदेश प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतसाधनको हिसाबले समृद्ध छ । यहाँ सम्भावना नै छैन भन्ने धारणा गलत छ । सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण हो ।”

उनले सुदूरपश्चिम प्रदेश सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थलका रूपमा पनि ठूलो सम्भावना बोकेको उल्लेख गर्दै त्यसको प्रवद्र्धन गर्न सके थप फाइदा लिन सकिने बताए ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशलाई सम्भावनाको खानीका रूपमा व्याख्या गर्दै वन–जङ्गल, कृषि र पर्यटन क्षेत्रमा लगानी गरेमा उल्लेखनीय प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे ।

उनले विगतमा नेपाललाई भारतसँग तुलना गरेर “केही भएन” भन्ने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले जापान, अमेरिका र अस्ट्रेलियासँग तुलना गरेर निराशा फैलाउने काम भइरहेको बताए । “नेपालले विकासको गति समात्न अझै धेरै समय बाँकी छैन, छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भइसकेको छ,” उनले भने, “ भएका कामभन्दा नभएका कामको प्रचार बढी भइरहेको छ ।”

प्रदेश प्रमुख मियाँले स्वदेशमै अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै युवाहरूलाई देशभित्रै लगानी र रोजगारीका सम्भावना खोज्न आग्रह गरे ।

कक्षा १२ पास गरेपछि युवाहरू विदेश जाने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो प्रवृत्तिले देशको दीर्घकालीन विकासमा असर पार्ने बताए । “विदेश गएर फर्किएर देशमा योगदान गर्ने युवाहरू सम्मानका पात्र हुन्,” उनले भने, “तर सधैंका लागि देश छोड्ने प्रवृत्तिलाई रोक्न आवश्यक छ ।”

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले संघीय सरकारबाट अपेक्षाअनुसार बजेट विनियोजन नभएका कारण प्रदेश विकास पछाडि परेको बताए । आवश्यक लगानीको अभावले यहाँका सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले महासङ्घको साधारणसभा धनगढीमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा महासङ्घका वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्य, निवर्तमान अध्यक्ष हरिराज पन्त, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवर, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा, महासङ्घका कोषाध्यक्ष मदनराज न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम महासङ्घका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । विसं २०६६ मा स्थापना भएको नेपाल वितरक महासङ्घ दैनिक उपभोग्य वस्तु ९एफएमसीजी० को द्रुत गतिमा बिक्री हुने उपभोक्ता वस्तुको वितरण गर्ने जिल्ला वितरक सङ्घहरूको छाता सङ्गठन हो । १७ वर्षको अवधिमा महासङ्घ ४५ जिल्लामा विस्तार भइसकेका छन् ।

महासङ्घले २०७२ को महाभूकम्प, २०७६ को कोभिड–१९ महामारी तथा २०८० को जाजरकोट भूकम्पका बेला जोखिम मोल्दै अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था निरन्तर चालु राखेको स्मरण गर्दै अध्यक्ष गौतमले भने, “हामी नाफामुखी मात्र होइन, जिम्मेवारी बोकेर आपूर्ति व्यवस्थापनको पुलका रूपमा काम गर्ने व्यवसायी हौं ।”

कार्यक्रममा देशका विभिन्न जिल्लाबाट वितरक व्यवसायीहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा व्यापार, लगानी र बजार व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा छलफल समेत भएको थियो ।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ