सुदूरपश्चिम सरकारको २४ अर्ब ११ करोड बजेट खर्च गर्न बाँकी

Wednesday May 20, 2026

पढ्न लाग्ने समय :


धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले १० महिनासम्म खर्च गरेकोभन्दा दोब्बर बढी बजेट अझै खर्च गर्न बाँकी छ । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामात्रै बाँकी रहेको बेला प्रदेश सरकारले अझै २४ अर्ब ११ करोड ७८ लाख रुपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो । कुल ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ बजेट रहेकोमा वैशाख मसान्तसम्म (१० महिनामा) प्रदेश सरकारले नौ अर्ब ३३ करोड ७३ लाख रुपियाँ मात्रै बजेट (२७.९१ प्रतिशत) खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार १० महिनासम्म सरकारले पुँजीगत बजेट चार अर्ब १७ करोड ७३ लाख रुपियाँ खर्च गरेको छ । पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरेको सरकारले हालसम्म कुल विनियोजनको २१.०६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यसै गरी चालुतर्फ १३ अर्ब ६० करोड ६६ लाख रुपियाँ बजेट छुट्याएको सरकारले हालसम्म पाँच अर्ब १६ करोड (३७.९२ प्रतिशत) रुपियाँ बजेट खर्च गरेको छ ।

जेनजी आन्दोलन र निर्वाचनका कारणले समयमा काम हुन नसक्दा खर्च प्रगति कम रहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो । उहाँले हरेक आर्थिक वर्षमा योबेला अहिलेकै हाराहारीमा खर्च भएको देखिने गरेको उल्लेख गर्दै थप्नुभयो, “भुक्तानी अन्तिम दुई महिनामा लिने गरिन्छ ।” राज्यमन्त्री बमले चालु आवको मसान्तसम्म बजेट खर्च प्रगति ६५ देखि ७० प्रतिशतसम्म हुने आकलन गरेको बबताए।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिकाले ५७.७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ४२.१० प्रतिशत बजेट खर्च गरेको छ । यसै गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३३.४७ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ३६.५३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २८.८४ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २१.०५ प्रतिशत बजेट खर्च गरेको छ ।
विकासे अड्डाका रूपमा परिचित तथा सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म २४.३८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३५.८६ प्रतिशत बजेट खर्च गरेका छन् । प्रदेश योजना आयोगले २९.५९ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले अर्थ वित्तीय व्यवस्था र अर्थ विविधमा छुट्याएको बजेट भने हालसम्म खर्च हुन सकेको छैन ।


भर्खर

अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने

काठमाडौँ : नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद फेरि जोगियो

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर

सुदूरपश्चिम सरकार ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ सञ्चालन गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ६ ओटा स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने