सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

Friday April 21, 2023

पढ्न लाग्ने समय :


कञ्चनपुर । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका  छन् । जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताए ।

“हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उनले भने, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।” उनले कक्षा ८ सम्म आफ्नो विद्यालयमा गत वर्ष एक सय ६० विद्यार्थी रहेको बताए । उनले यस वर्ष दुई सय २० विद्यार्थी भर्ना गर्ने लक्ष्यअनुसार घरदैलो अभियानमा लागेको जानकारी दिए ।

त्यसैगरी जिल्लाका केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यम अपनाएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । अभिभावक तथा विद्यार्थीहरुमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन थालेको भृकुटी माविका शिक्षिका बिमला भट्टले जानकारी दिइन् । “सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासमेत उपलब्ध गराउँदैछौँ”, उनले भनिन्, “हामीले विद्यालयको गुणस्तर वृद्धि गरेर तल्लो कक्षामा अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौं ।” उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताइन् ।

यहाँको महेन्द्रनगर माविले पनि यसै शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यस वर्षदेखि अङ्ग्रजी माध्यमबाट पनि कक्षा सुरु गरिन लागेको बताए । “हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भने, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।” उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताए ।

कञ्चनपुरमा दुई सय ५९  सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।