साफ महिला च्याम्पियनसिपको खेल बिहीवारदेखि सुरु हुँदै
पढ्न लाग्ने समय :
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ ।
फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग खेलका लागि राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन् । साफ महिला च्याम्पियनसिपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले साम्बाले त्यो खेल गुमाउने भएकी हुन् । एन्फाले उनलाई चाडैं फुकुवा गर्न आग्रह गरेपनि क्लबले आफ्नो खराब लयका कारण र साम्बा टोलीको महत्त्वपूर्ण सदस्य रहेको भन्दै फुकुवा गर्न नमानेको हो । यस्तै हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल भने नेपाल आइपुगेकी छिन् ।
उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन् । अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको छ । फिफाको अन्तर्राष्ट्रिय खेल विन्डो २१ देखि ३० अक्टोबरसम्म रहेको छ । नेपालले समूहको दोस्रो खेल २१ तारिखमा माल्दिभ्ससँग खेल्नेछ । साम्बाले १९ तारिखमा आफ्नो लिग खेल खेलेर २० तारिखमै नेपाल आउने तयारी गरेको बुझिएको छ । नेपाल रहेको समूहमा भुटान, माल्दिभ्स र श्रीलंका छन् । अर्को समूहमा भारत, बंगलादेश र पाकिस्तान छन् ।