सवारी अनुमति लिन कञ्चनपुर प्रशासनको आग्रह

Friday February 27, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर:  मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। बिहीबार सूचना जारी गर्दै प्रशासनले मतदानको दिनभन्दा दुई दिनअघि नै मतदानमा प्रयोग हुने सवारी साधनको अनुमति लिन अनुरोध गरेको हो।

उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि, राष्ट्रिय पर्यवेक्षक तथा सञ्चार माध्यमले अनिवार्य रूपमा सम्बन्धित निकायको सिफारिससहित सवारी अनुमति पत्रका लागि फागुन १९ गतेसम्म निवेदन दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले दुई, तीन वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि अनुसूची–३ बमोजिम मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिई मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ।

त्यसैगरी, राष्ट्रिय पर्यवेक्षकले दुई वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ। संवैधानिक निकायका प्रदेश तथा जिल्लास्थित कार्यालयहरूले पनि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले अनुरोध गरेको छ ।

सञ्चार माध्यमका हकमा प्रत्येक सञ्चार संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधनका लागि जिल्लास्थित पत्रकार महासङ्घको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार मतदानको दिन एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन तथा नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र सवारी पास लिई सञ्चालन गरिने सवारी साधनबाहेक अन्य सवारी साधनको आवतजावत निषेध गरिनेछ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि जिल्लामा मदिरा बिक्री–वितरण निषेध गरिएको जनाएको छ । फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभित्र मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

निर्वाचनको समयमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि गरिएको निर्णयमा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ। उक्त अवधिमा मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।