सरकार–नेपाल चिकित्सक सङ्घबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता; आजदेखि अस्पतालका सबै सेवा नियमित
पढ्न लाग्ने समय :
सरकार र नेपाल चिकित्सक सङ्घबीच पाँचबुँदे सहमति भएपछि चिकित्सकहरूले जारी राखेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै आजदेखि देशभरका अस्पतालमा ओपीडीसहित सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालनमा आएका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारका घटनामा दोषीमाथि कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले मङ्गलबार र बुधबार देशभरका स्वास्थ्य संस्थामा ओपीडीलगायतका सेवा बन्द गरेर आन्दोलन गरेको थियो। बुधबार साँझ सरकार र चिकित्सक सङ्घबीच सहमति भएपछि आन्दोलन अन्त्य भएको हो।
बुधबार अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक सङ्घका प्रतिनिधिबीच भएको छलफलपछि पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका तयार गरिने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा सम्बन्धित निकायबीच समन्वय गरी कानुनी कारबाही अघि बढाइने उल्लेख गरिएको छ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा कार्यदल गठन गर्ने तथा कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने सहमति पनि भएको छ।
सहमतिपत्रमा उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्यसम्बन्धी व्यवस्थामा आवश्यक संशोधन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक सङ्घको सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउने उल्लेख छ।
सहमतिपत्रमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव डा. पराशर ढुङ्गाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्रि रिजालले हस्ताक्षर गरेका छन्।
सरकार र चिकित्सक सङ्घबीच भएको सहमतिसँगै देशभरका अस्पतालमा रोकिएका सेवा पुनः सञ्चालनमा आएका छन् भने बिरामीले नियमित रूपमा उपचार सेवा पाउन थालेका छन्।