मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या
पढ्न लाग्ने समय :
डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।
जिल्लाको जोरायल गाउँपालिका–४ देउथली निवासी ५१ वर्षीय चन्द्रबहादुर ओलीले मदिरा सेवनपछि आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो करिब १ः४५ बजे भएको कुटपिटबाट अमृता ओलीको पेटको बायाँ भागमा गम्भीर चोट लागेको थियो।
घाइतेलाई तत्काल उपचारका लागि चन्कट्टे स्वास्थ्य चौकी लगिएको भए पनि अवस्था जटिल भएपछि सेती प्रादेशिक अस्पताल, धनगढी रेफर गरिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेका थिए।
श्रीमतीको हत्या गरेको आरोपमा चन्द्रबहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।