संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री
पढ्न लाग्ने समय :
काठमाडौं। कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धीसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा व्यक्त गर्छन्।
विसं २०२२ मा स्याङ्जामा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकाे र चौध वर्षको उमेरमा २०३६ सालमा विद्यार्थी आन्दोलनमा पहिलोपल्ट सहभागी भएका थिए। विसं २०४८ मा काँग्रेसबाट पहिलोपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङ २०५३ सालमा नेवि संघको सभापति बनेका थिए ।
विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जाबाट सदस्यमा निर्वाचित मन्त्री गुरुङ सरकारले संविधानको कार्यान्वयन गर्ने सत्प्रयास गरिहेको र संविधान कार्यान्वयनका क्रममा देखिने कमीकमजोरीलाई पनि विस्तारै सच्याएर लैजाने काम भइरहेको बताउँछन्।
पहिलो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य (सांसद) भएर काम गर्नुभएका मन्त्री गुरुङ संविधानअनुसार आवश्यक कानुन निर्माण गर्न सत्ता पक्ष विपक्षी सबैको सहयोग आवश्यक पर्ने बताउँछन्।
विसं २०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका गुरुङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि पुनः सांसद बनेका थिए। विसं २०७२ मा सम्पन्न काँग्रेसको १३ औँ महाधिवेशनपछि पुनः केन्द्रीय सदस्य निर्वाचित भएका गुरुङ १४ औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापति बनेका हुन् ।
नेपालको संविधान जारी भएको आठ वर्ष पुगेको छ। संविधान दिवसमा अवसरमा मन्त्री गुरुङसँग राससकर्मी भीष्मराज ओझा र कालिका खड्काले लिएको अन्तर्वार्ता :
नेपालको संविधान जारी भएको आठ वर्ष भयो । संविधान कार्यान्यवनको अवस्था कस्तो छ ?
संविधानको कार्यान्वयन गर्ने सत्प्रयास गरिहेका छाैं। संविधान कार्यान्वयनका क्रममा भएका कमीकमजोरीलाई पनि विस्तारै सच्याएर लैजाने काम गरिरहेको छ । संविधान संशोधन गरेर पनि कतिपय कुरा समावेश गर्नुपर्ने मैले देखेको छु।
जुन ढंगबाट संविधानको कार्यान्वयन गरेर जानुपर्ने हो । त्यो अनुरुप हुन सकेको छैन । तर संविधानको अपनत्व बढेर गएको छ । संविधान कार्यान्वयनमा सहयोग गर्न म सबै पक्षलाई आग्रह गर्छु ।
संविधान कार्यान्वयन भएपछि जनताले अपेक्षा अनुरुप के पाए ?
संविधान मुलुकलाई विधिमा बाँध्ने प्रक्रिया मात्रै हो । नेपाली जनताको चाहना संविधान मात्र होइन । सँगसँगै समृद्धि पनि हो । जनताको चाहनामा समुन्नति र समृद्धि जोडिएको छ।
मुलुकलाई संविधानले परिकल्पना गरेअनुरुप जनताको जीवनमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्छ । खाँली हातमा संविधान दिएर मात्र पुग्दैन । एउटा हातमा संविधान र अर्को हातमा समृद्धिका साथै समुनति हुनुपर्छ भन्ने मलाई लाग्छ ।
संविधान अनुकुलका कानुन बनाउन धेरै बाँकी देखियो । के कारणले गर्दा ढिलाई भयो ?
संविधान अनुकुलका केही कानुन बनाउन बाँकी छ । कानुन बनाउनुपर्ने विधयेकहरु संसदमा लैजाने र संसदको अवधि सकिएपछि विधेयकले मृत्युवरण गर्ने र फेरि अर्को संसद आएर विधेयक लैजानुपर्ने अवस्था छ । त्यो प्रक्रिया अलि मिलेको छैन जस्तो मलाई लाग्छ।
किनभने कानुन बनाउने थलो संसद नै हो। अर्को पक्ष नयाँ ठाउँमा नयाँ प्रणालीमा पुगियो। त्यो प्रणालअनुरुप बन्नुपर्ने कानुन त्यो अनुरुप हुन सकेको छैन। विधेयक बनाएर सरोकारवालासँग छलफल गरेर धेरैलाई सम्बोधन गरेर बनाउनुपर्ने भएकाले केही समय लागेको छ। जहाँ विधेयकहरु पारित हुने ठाउँ हो। प्रतिनिधिसभा विभिन्न कारणले अवरोध हुने, नचल्ने अवस्था हुन्छ । कानुन, ऐन बनाउने ठाउँमा अवरोध हुने त्रासदी पनि छ।
कानुन निर्माणकै लागि सरकारले संसदलाई विजनेस दिएन भन्ने प्रमुख प्रतिपक्षीको आरोप छ नि ?
विधेयकहरु संसदमा पेश गर्छौं । तर सदनबाट ठीक ढङ्गले अघि नबढेको अवस्था पनि छ । तर एकले अर्कोलाई दोष लगाउनुभन्दा पनि सरकारले संसदलाई विजनेस दिने हो । संसदले त्यो कार्यान्वयन गर्दै जाने हो ।