शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय

Monday April 8, 2024

पढ्न लाग्ने समय :


बलेवा (बागलुङ) । वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् ।

वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि संस्थागत विद्यालय सामाजिक सञ्जालदेखि सञ्चारमाध्याममा विज्ञापन गरेर जोडतोडका साथ विद्यार्थी भित्र्याउने ध्याउन्नमा छन् । नयाँ शैक्षिक कार्यक्रम ल्याउन संस्थागत विद्यालय परामर्श र छलफलमा व्यस्त छन् । कतिपय सामुदायिक विद्यालयले भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरे पनि अधिकांश भने सुनसान छन् ।

सामुदायिक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका विषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पार्छन् । तिनै एकाध विद्यालयमध्येको एक विद्यालय हो, रेश नुन्थला मावि । जसले हरेक वर्षको शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार गर्छ ।

काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला मावि आगामी शैक्षिक सत्रका लागि शैक्षिक कार्यक्रम बनाउन व्यस्त छ । वार्षिक परीक्षा सकिएपछि अर्को शैक्षिक सत्र सुरु नहुने बेलासम्म विद्यालयले विभिन्न छलफल र अन्तरक्रिया गर्दै आएको छ ।

शिक्षक कर्मचारीसँग छलफल सकेर उत्तरपुस्तिका जाँचको जिम्मेवारी दिएको विद्यालयले व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग छलफल सकेको छ । “विद्यालयसँग जोडिएका सबै पक्ष नयाँ शैक्षिक सत्रमा कसरी अघि बढ्ने भनेर योजना बनाउने अधिकार राख्ने पक्ष हुन”, विद्यालयका प्रअ ओमबहादुर थापाले भने, “एक्लै हिँडेर काहीँ पुगिदैन्, सबैको साथ हुँदा गन्तव्य सजिलो हुन्छ ।”

निर्धारित पाठ्यक्रम पूरा गर्नु मात्रै विद्यालयको कर्तव्य नभएको बुझाइ छ थापाको । त्यसैले विद्यालयले शैक्षिक कार्यक्रम बनाउँदा व्यवहारिक पक्षलाई ध्यान दिएको उनको भनाइ छ । शैक्षिक कार्यक्रम तयार गर्नुपूर्वको छलफलमा सहभागी अभिभावकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आग्रह गरेका छन् । पाठ्यक्रमको पढाइले मात्रै जीवनयापन गर्ने सीप विद्यार्थीले नसिक्ने भएकाले व्यवहार सिकाइलाई जोड्न उनीहरुले आग्रह गरे ।

विद्यालयले अभिभावकसँग गरेको छलफलमा समाजसेवी हीराबहादुर कुँवरले दैनिक जीवनका क्रियाकलाप सिक्नेगरी विद्यालयका गतिविधि सञ्चालन हुनुपर्नेमा जोड दिए । भौतिक पूर्वाधारदेखि शैक्षिक कार्यक्रम तयार गर्दा विद्यालयले सबैलाई सहभागी गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद थापाले बताए । सबैसँग छलफल गरेर तयार गरेका कार्यक्रम कार्यान्वयन गर्न सजिलो हुने गरेको उनले अनुभव सुनाए ।

विद्यालयको यो प्रयासले शैक्षिक गतिविधि र विद्यार्थीको सिकाइमा सहयोग गर्ने शिक्षकहरु बताउँछन् । विद्यालयले अभिभावक र शुभचिन्तनकै सहयोगमा प्रविधिमैत्री पठनपाठन समेत सुरु गरेको छ । घरदैलो गर्ने, टोल टोलमा पुग्ने, अभिभावक र विद्यार्थी भेट्ने तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्ने अभियान विद्यालयले सुरु गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।