शुक्लाफाँटाका ३२ किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

Saturday March 14, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ।

वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो। वडा कार्यालयका अनुसार कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यका साथ किसानलाई मिनी टिलर वितरण गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए।

उनका अनुसार किसानलाई कृषिमा यान्त्रीकरणतर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको छ। “वडाबाट नौ लाख बजेट मिनी टिलर अनुदान कार्यक्रमका लागि विनियोजन गरिएको थियो,” उनले भने, “त्यही बजेटमार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ।”

उनका अनुसार एक वटा मिनी पावर टिलरको बजार मूल्य रु ५६ हजार दुई सय ५० पर्छ। उक्त रकमको आधा अर्थात् २८ हजार वडाले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी २८ हजार किसान स्वयंले लगानी गरेका छन्। “व्यवसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यवसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनौट गरी मिनी टिलर वितरण गरेका छौं” उनले भने, “यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।”

शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएमा किसानको श्रम र लागत दुवै कम हुने बताए। “मिनी टिलरले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँअघिको तयारी गर्न सहज बनाउँछ,” उनले भने, “यसले किसानको समय बचत हुनुका साथै उत्पादन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउँछ।”
उहाँका अनुसार मिनी टिलर वितरणसँगै किसानलाई यसको प्रयोग र मर्मतसम्बन्धी प्राविधिक जानकारीसमेत दिइएको छ। किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको उनले बताए।
मिनी टिलर प्राप्त गर्ने किसान बुद्धिबहादुर चौधरीले यसले खेतीपातीको कामलाई धेरै सहज बनाउने बताए। उनका अनुसार यसअघि गोरु प्रयोग गरेर खेत जोत्नुपर्दा निकै समय र मेहनत लाग्थ्यो।“पहिला गोरुले खेत जोत्न निकै समय लाग्थ्यो,” उनले भने, “अब मिनी टिलर प्रयोग गरेपछि छिटो र सहज रूपमा खेत जोत्न सकिने भएको छ।”
उनका अनुसार मिनी टिलरले खेत जोत्न मात्र नभई रोपाइँका लागि खेत तयार पार्न पनि सहयोग पुर्याउनेछ। समयमै खेत जोत्न सकिने भएकाले बाली लगाउने समय व्यवस्थापन गर्न पनि सहज हुने किसानहरूको भनाइ छ। कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको नगरपालिकाको कृषि शाखाका अधिकृत विनयराज जोशीले बताए। यसबाट खेतीपातीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनेतर्फ सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे।


भर्खर

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८

कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट

धनगढी  कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट गरिएको छ। भारतबाट घर फर्किरहेका दैलेखका तीन जना