शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

Sunday December 17, 2023

पढ्न लाग्ने समय :


सुनसरी । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।

सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक  अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो ।  आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए  ।

उनले भने, “हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।” कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

“हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ”, उनले भने, “राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।”

बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९  श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय  छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए । उनले भने, “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।”

सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ ।  वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए।

उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए ।  उनले भने “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ । ”


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।