वीरगञ्जमा अत्यधिक चिसोको कारण एक साताका लागि विद्यालय बन्द

Monday January 8, 2024

पढ्न लाग्ने समय :


वीरगञ्ज (पर्सा) । विगत केहीदिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ  ।

हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लागाएको हो ।

महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।

कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उनको भनाइ थियो ।

यसैबीच एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ ।

बाक्लो हुस्सु र चिसो हावाका कारण  रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा  बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो ।

दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् ।

चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।

चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिए ।

दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।