विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Wednesday August 12, 2026

पढ्न लाग्ने समय :


विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। हरेक वर्ष अगस्ट १२ तारिखमा मनाइने यो दिवस यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो।

युवाको भूमिका, सहभागिता र योगदानको महत्वलाई उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि अगस्ट १२ का दिन यो दिवस मनाइँदै आएको हो।

दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवासँग सम्बन्धित विषयमा बहस तथा पैरवी गर्ने, नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता बढाउने तथा युवामैत्री शासन प्रणाली प्रवर्द्धन गर्नु रहेको छ।

यसैगरी युवा क्षेत्रमा साझेदारी तथा लगानी अभिवृद्धि गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्था र निकायबीच सहकार्य बढाउने उद्देश्यसमेत दिवसले बोकेको छ।

कमलादीमा विशेष समारोह

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग सम्बन्धित प्रदर्शनीसमेत गरिने भएको छ।

त्यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीस्थित मूल समारोहस्थलसम्म युवा जागरण दौड आयोजना हुँदैछ।

मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफलसमेत आयोजना गरिनेछ।

दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारअन्तर्गत विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। सातै प्रदेशका युवा उद्यमीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।

युवाको सहभागिता र साझेदारीमा जोड

अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा जागरणका लागि विश्वव्यापी तथा साझा अभियानका रूपमा लिइन्छ। यसले युवा केन्द्रित बहस तथा पैरवीलाई प्राथमिकता दिनुका साथै नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता तथा साझेदारी बढाउन प्रेरणा दिँदै आएको छ।

दिवसका अवसरमा सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता, सहकार्य र पारस्परिकता प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यही साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको थियो।

४२ प्रतिशतभन्दा बढी युवा

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका एक करोड २४ लाख १२ हजार १७३ जना युवा रहेका छन्। यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो।

युवा अवस्थालाई मानव जीवनमा जोश, जाँगर, उत्साह र ऊर्जाले भरिएको महत्वपूर्ण उमेर समूहका रूपमा लिइन्छ। देशको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै राज्यले युवाका लागि रोजगारी, उद्यमशीलता, सीप विकास तथा अवसर सिर्जनामा जोड दिँदै आएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।