विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस
पढ्न लाग्ने समय :
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको परिषद्को ९९औँ बैठकले आधारभूत तथा माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका ‘अवधि’ र ‘मगर ढुट’ विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) अन्तर्गत ‘जनसङ्ख्या अध्ययन’ र ‘तन्त्र शास्त्र’ विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको छ।
यस्तै, माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत ‘संवैधानिक कानुन’, ‘देवानी तथा फौजदारी कानुन र न्याय’, ‘कार्यविधि कानुन’, ‘कानुनी मस्यौदा तथा विधिशास्त्र’ तथा ‘नेपाली कानुनी प्रणाली’ विषयका पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।
परिषद्को निर्णयसँगै सम्बन्धित पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिनेछ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि ती पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, परिषद्का पदाधिकारी तथा सदस्यहरूका साथै विषयगत विज्ञ र सरोकारवालाको उपस्थिति रहेको थियो।