विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

Monday April 15, 2024

पढ्न लाग्ने समय :


मान्म (कालीकोट) । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् ।

नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ ।

कालीकोटमा रहेका आधारभूत दुई सय २५, माध्यमिक ७५, बालविकास केन्द्र ४२, सामुदायिक सिकाइकेन्द्र ३० वटा र खुला विद्यालय एक गरी विद्यालयले भर्ना अभियान सञ्चालन गरेका इकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

“जिल्लाका नौ स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उनले भने, “सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियानमा सहभागी गराउने प्रयास गरिरहेका छौँ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको बडिमालिका माव रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए । “गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौँ”, उनले भने, “गत वर्ष अभियानमार्फत ७५ जना विद्यार्थी थपेका थियौँ । यस वर्ष पनि विद्यालयले विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

जिल्लामा पहिलो स्कुल बस सेवा

सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि जिल्लाका खाँडाचक्र नगरपालिका–८ को जनप्रभात मावि शेरावाडाले पनि घरदैलो अभियानसँगै बससेवा सञ्चालन गरेको छ । विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्नाका लागि विद्यालयले बससेवा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले बताए ।

“जिल्लाका सबै सामुदायिक विद्यालयमध्ये पहिलो पटक हामीले बससेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “भर्ना अभियान जारी रहेको छ । शैक्षिकसत्र २०८१ देखि बससेवा सञ्चालन गर्ने गरेका छौँ ।”

भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा स्कुलले बस उपहार पाएको प्रधानाध्यापक मल्लले जानकारी दिए । “हामीलाई भारत सरकारको सहयोगमा स्कुल बस पाएका छौँ”, उनले भने, “आगामी शैक्षिकसत्रदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीले स्कुल बसबाटै आवातजावत गर्न सजिलो हुनेछ ।”


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।