विद्यार्थी कम भएपछि शुक्लाफाँटाका चार विद्यालय समायोजन

Saturday April 6, 2024

पढ्न लाग्ने समय :


कञ्चनपुर । विद्यार्थी सङ्ख्या न्यून भएका शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । विद्यालय सुधार तथा सञ्चालन कार्ययोजना तयार गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पनि विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुन नसकेपछि विद्यालय समायोजन गरिएको हो ।

शैक्षिक सुधार हुन नसकेपछि बालविकास केन्द्र कायम रहनेगरी विद्यालय समायोजन गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए । उनका अनुसार वडा नं ७ मा रहेको शान्ति आधारभूत विद्यालय, वडा नं १० मा रहेको त्रिमूर्ति आधारभूत विद्यालय, वडा नं १२ मा रहेको सरस्वती आधारभूत विद्यालय चित्रपुर र वडा नं १२ मा रहेको मिलन आधारभूत विद्यालयलाई समायोजन गरिएको छ ।

शान्ति आधारभूतलाई धर्मजनता माध्यमिक विद्यालय स्टेशनपुर, त्रिमूर्ति आधारभूतलाई कृष्ण माध्यमिक विद्यालय झलारी, सरस्वती आधारभूतलाई सिद्धनाथ आधारभूत विद्यालय वसन्तपुर र मिलन आधारभूतलाई शिवशक्ति माध्यमिक विद्यालय कालागौँडीमा समायोजन गरिएको छ ।

“समायोजन गरिएका विद्यालयलाई पत्राचार गरी जानकारी दिने कार्य भइसकेको छ”, उनले भने, “शिक्षक समायोजन प्रक्रियालाई पनि अगाडि बढाएका छौँ ।” उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी एकदेखि तीन जनासम्म रहेको र विद्यार्थी सङ्ख्या २८ देखि १२ मात्रै रहेका विद्यालय समायोजन गरिएको उनले बताए ।

सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ मा भएको व्यवस्थाअनुसार विद्यालय समायोजन गरिएको उनको भनाइ रहेको छ । योसँगै नगरपालिकाको वडा नं ७ मा रहेको भवानी आधारभूत विद्यालय, वडा नं १ मा रहेको जनचेतना आधारभूत विद्यालयको कक्षा मिलानअनुसार तह घटाइएको छ ।

कक्षा ५ सम्म पठनपाठन भइरहेका विद्यालयमा तह घटाएर कक्षा १ देखि ३ सम्म मात्रै राखिएको छ । आधारभूत तहमा पठनपाठन भइरहेका आठ विद्यालयमा १२ शिक्षक दरबन्दी थप गर्ने निर्णय गरिएको छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि विसं २०७९ मङ्सिर २७ गते सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलको सिफारिसअनुसार नगरपालिकाको कार्यपालिकाको निर्णयबमोजिम विद्यालय समायोजन गरिएको छ । नगरपालिकामा ३२ सामुदायिक र २५ संस्थागत गरी ५७ विद्यालय रहेका छन् । बालविकास केन्द्रको सङ्ख्या ६५ रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।