राष्ट्रिय महिला भलिबलकी कप्तानमा निरुता ठगुन्ना नियुक्त
पढ्न लाग्ने समय :
काठमाडौँ : नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना नियुक्त भएकी छन्। राष्ट्रिय टोलीलाई नेतृत्व गर्ने उनी छैटौं कप्तान हुन् ।
प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल संघको कार्यसमिति बैठकले शुक्रवार निरुतालाई कप्तानका लागि अनुमोदन गरेको थियो । अहिले टोलीमा रहेका सिनियर खेलाडीमा उषा भण्डारी र सलिना श्रेष्ठ पनि दाबेदारमा थिए । तर उनीहरूभन्दा उमेरको हिसाबले परिवक्व र अन्तर्राष्ट्रिय म्याच अनुभवका कारण निरुताले कप्तानी जिम्मेवारी पाएकी हुन् ।
नेपालको महिला भलिबललाई पहिलो कप्तान गर्ने हेमा प्रधान हुन् । त्यसपछि सुष्मा थापा, अञ्जु श्रेष्ठ, विनिता बुढाथोकी र अरुणा शाहीले नेपालको महिला भलिबल टोलीको नेतृत्व गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय महिला टोली कप्तानविहीन थियो । कप्तान अरुणा अस्ट्रेलिया लागेपछि टोली नेतृत्वविहीन थियो । महिला टोली घरेलु मैदानमा ८–१५ जेठदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काभा महिला च्याम्पियनसिप खेल्ने तयारीमा छ । निरुताको कप्तानी डेब्यु काभामै हुनेछ ।
दार्चुला नौगाडकी निरुताको भलिबल यात्रा राष्ट्रपति रनिङ सिल्डबाट सुरु भएको हो । ०७३ सालबाट उनले भलिबल खेल्न थालिन् । पहिला उनी एथलेटिक्सकी खेलाडी थिइन् । रनिङ सिल्डमा एथलेटिक्सका इभेन्टहरूमा भाग लिन्थिन् । एक जना गुरुको सल्लाहमा उनी रनिङ सिल्डकै भलिबलतर्फ लागिन् । राष्ट्रपति रनिङ सिल्डमा भलिबल दुई पटक खेलेको निरुतालाई सम्झना छ । त्यसपछि उनी भलिबलबाट टाढा हुन सकेकी छ्रैनन् । सात वर्षयता निरुताले राष्ट्रिय टोलीबाट खेलिरहेकी छन् ।
निरुता कुनै बेला सुदूरपश्चिम टोलीबाट खेल्थिन् । उनको प्रतिभालाई नियालेका अहिलेका प्रशिक्षक जगदीश भट्टले त्रिभुवन आर्मी क्लबसँग आवद्ध गराए । त्यसपछि निरुताको क्लब भलिबल यात्रा सुरु भएको थियो । उनले आर्मीमा झन्डै दुई वर्ष बिताइन् । आर्मी छाडेर उनी एपीएफमा पुगेकी हुन् । अहिले उनी एपीएफकी कप्तान पनि हुन् । निरुताले एपीएफलाई तीन पटक टाइगर कप, नवौं राष्ट्रिय खेलकुद, ढोरपाटन डबल लिग च्याम्पियनसिप, प्रधानमन्त्री कप, एनभीए क्लब च्याम्पियनसिपलगायत दर्जन प्रतियोगिता जितेकी छन् ।