रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा पाठ्य पुस्तक पुग्यो

Sunday April 16, 2023

पढ्न लाग्ने समय :


रामेछाप । विसं २०८० को शैक्षिक सत्र  सुरु भएसँगै रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा सरकारी पुस्तकहरू पुगिसकेको छ ।

यसपटक जिल्लाका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पर्याप्त पुस्तक ल्याएका कारण शैक्षिक सत्रको सुरुआतीसँगै जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।

त्यसैगरी सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सरकारले निजी क्षेत्रलाई प्रकाशन र वितरण गर्ने अनुमति दिएका कारण र जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षा सम्मका पाठ्यपुस्तक मात्र छपाइ गरेको कारणले पनि यसपटक पाठ्यपुस्तकमा सहजता भएको व्यवसायी बताउँछन् ।

जिल्लामा कक्षा १ देखि १० सम्मका ४० हजार थान पुस्तक आवश्यक रहेकोमा अहिलेसम्म ३० हजार थान पाठ्यपुस्तक जिल्लामा भित्रिसकेकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष मीनप्रसाद घिमिरेले बताए ।

जिल्लामा स्टेशनरी व्यवसाय गरेर बस्ने व्यवसायीले छुट्टाछुट्टै रूपमा पुस्तक खरिद गरेर ल्याएका छन् । ती पुस्तक सम्बन्धित विद्यालयले आआफ्नो पायक पर्ने पुस्तक पसलबाट खरिद गरेर लैजाने गर्दछन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अनुसार यो वर्ष गत वर्षमा जस्तो पाठ्यपुस्तक प्राप्तिमा झन्झट नभएका कारण बेलैमा पाठ्यपुस्तक जिल्लामा ल्याएर विभिन्न विद्यालयमा पुरयाउन सकिएको हो ।

अहिलेसम्म जिल्लालाई आवश्यक पर्ने कूल सङ्ख्याको ७५ प्रतिशत पुस्तक आएको भए पनि अरू बाँकी केही पुस्तक पुरानै चलाउने गरेका कारणले जिल्लामा सय प्रतिशत पुस्तक ल्याए पनि नबिक्ने समस्या रहेको गुनासो पुस्तक व्यवसायीको रहेको छ ।

जिल्लाका आठ वटा पालिकामध्ये छ वटा पालिकामा पूर्ण मात्रामा पाठ्यपुस्तक पुगिसकेको र दुई पालिकामा पनि वैशाखको पहिलो हप्तासम्म गतेसम्म पूर्ण मात्रामा पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख भरत भट्टराईले बताए । उनका अनुसार जिल्लाको रामेछाप र मन्थली  नगरपालिका, गोकुलगङ्गा, खाँडादेवी, उमाकुण्डर लिखुतामा कोशी गाउँपालिकामा रहेका विद्यालयमा भएको आवश्यकताका आधारमा पूर्णरूपमा पाठ्यपुस्तक पुगिसकेको छ । दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा पनि वैशाखको पहिलो हप्ताभित्र  पाठ्यपुस्तक पुगिसक्ने प्रमुख भट्टराइले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका अनुसार रामेछापको आठ वटै पालिकामा रहेका दुई सय ८० आधारभूत विद्यालय र ९६ माध्यमिक विद्यालयका लागि यो वर्ष ४० हजार थान पाठ्यपुस्तक आवश्यक पर्दछ । यस शैक्षिक सत्रका लागि माध्यमिक तहमा सात हजार र आधारभूत तहमा ३३ हजार विद्यार्थीका लागि पाठ्यपुस्तक आवश्यक रहेको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापले जनाएको छ ।

केही सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने र केही विद्यालयमा पुरानै पाठ्यपुस्तक पुनःप्रयोग गर्ने भएकाले पनि अब जिल्लामा धेरै पाठयपुस्तक आवश्यक नपर्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।