रानीसैन घटना: मार्तडी बजार र कर्णाली करिडोर बन्द

Thursday June 11, 2026

पढ्न लाग्ने समय :


बाजुरा : रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ ।
जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग राख्दै जिल्ला सदरमुकाम मार्तडीलगायतका क्षेत्र बन्द गरिएको संघर्ष समिति बाजुराले जनाएको छ ।
जेठ ५ गते रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कूलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मिनु कुँवर, प्रहरीचौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए ।
यस्तै, जेठ २३ गते रानीसैनको लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिकाका एक सय बढीको समूहले गोठमा आगजनी गरेको, घर भत्काएको र ३५ परिवारलाई लखेटेको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेले बताए ।

त्यसै घटनाको विरोध जनाउँदै बजार र कर्णाली करिडोर सडक बन्द गरिएको पाण्डेले जानकारी दिए । रानीसैन घटनामा संलग्न २३ जनालाई पक्राउ गर्नुपर्ने संघर्ष समितिको माग छ । उक्त घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीय देवराज रावलसहित २३ जना संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दर्ता पनि भएको छ ।

तर, हालसम्म पक्राउ पुर्जी जारी नभएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई दबाब दिन बजार बन्द गरिएको पाण्डेले जानकारी दिए ।
जेठ ३ गते रानीसैनको लाम्पाटामा अस्थायी प्रहरीचौकी निर्माण हुन थालेपछि हुम्लाबासीले सीमा विवाद निकाल्दै विरोध जनाएका थिए ।
रानीसैनमा बहुमूल्य जडीबुटी, संरक्षित वन्यजन्तु, घोरल, मृग, भालुलगायतका जनावरको चोरी शिकारी गरेर चीनको हिल्सा पुर्‍याउने अवैध धन्दा हुनेगरेकाले लाम्पाटामा बसोबास गर्ने जनजाती समुदायका मानिसहरूमाथि सांघातिक आक्रमण गरिएको हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले दाबी गरिन् ।
संघर्ष समिति बाजुराले बुधबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा जेठ ३ र ५ गतेको घटनाका पाँच जना घाइतेको उपचार बेहोर्नुपर्ने, लाम्पाटा क्षेत्रको नापी नक्सा मालपोत र नापी कार्यालयले सार्वजनिक गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले लाम्पाटामा एक साता अघि सचिवस्तरको निर्णयबाट सशस्त्र प्रहरी बलको सिमा सुरक्षाचौकी ९विपिओ० र नेपाल प्रहरीको अस्थायी प्रहरीचौकी राख्ने काम भएको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।