राजेन्द्र रावलले गरे आत्मालोचना, एमाले संसदीय दलको विवाद साम्य

Wednesday May 13, 2026

पढ्न लाग्ने समय :


धनगढीः एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि दलभित्रको तनाव मत्थर बनेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश सांसदहरूसँग र त्यसपछि उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेश ठगुुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता रावल लगायतसँग पनि छुट्टाछुट्टै संवाद गरेका थिए ।
छलफलका क्रममा रावलले आफ्नो कार्यशैली र व्यवहारबारे उठेका प्रश्नमा आत्मालोचना गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार रावलले आफूबाट बोली वा व्यवहारका कारण असहज महसुस भएको भए क्षमा दिन आग्रह गरेका थिए । साथै, पार्टीलाई हानि पुग्ने कुनै काम आफूले नगरेको दाबी गरेका थिए ।
अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलमा रावलले कमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि संसदीय दलको नेतृत्व परिवर्तनको विषयले धेरै स्थान पाएन । रावललाई दलको नेताबाट हटाउनुपर्ने मागसहित उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारीले अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर गुण्डुमा भएको छलफलमा भने उनीहरूले नेतृत्व परिवर्तनभन्दा सरकार पुनर्गठनमा बढी जोड दिएको बताइन्छ ।
छलफलमा सहभागी एक नेताका अनुसार, रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरूले आगामी आर्थिक वर्षको बजेटअघि मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूहरूलाई पनि सरकारमा सहभागी गराउन प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीले रावललाई संसदीय दलभित्र सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सरकार पुनर्गठनको विषयमा भने अन्य नेताहरूसँग परामर्श गरेर निर्णय लिने संकेत दिएको नेताहरूले बताएका छन् ।
स्रोतका अनुसार नेपाली कांग्रेससँगको सत्ता समीकरण कायम राख्ने वा नेकपाले अघि सारेको प्रस्तावअनुसार नयाँ राजनीतिक समीकरण बनाउने भन्ने विषयमा शीर्ष तहमा छलफल जारी छ ।
यता, संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले त्यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरेका छन् ।
रावलमाथि बजेट विनियोजन, राजनीतिक नियुक्ति र सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लगाउँदै केही प्रदेशसभा सदस्यहरू लामो समयदेखि असन्तुष्ट थिए । विवाद चर्किंदै गएपछि स्वास्थ्य समस्याका बीच पनि अध्यक्ष ओली आफैं सक्रिय भएर समाधान प्रक्रियामा जुटेका हुन् ।
रावल हटाउन दबाब दिँदै आएको समूहले भने अहिलेका लागि उनको कार्यशैली हेर्ने र सुधार नभए थप कदम चाल्ने संकेत गरेको छ ।


भर्खर

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय

भारतीय प्लास्टिक आयातमा कडाइ गर्न फूल व्यवसायीको माग

धनगढी :  कैलालीका फूल व्यवसायी तथा किसानहरूले भन्सार नाकामार्फत भारतबाट भित्रिने प्लास्टिकका फूलको आयातमा कडाइ