युएईमाथि नेपालको रोमाञ्चक जित
पढ्न लाग्ने समय :
काठमाडौँ : बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार जितका लागि दुई सय एक रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटियो ।
युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान मोहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, ओपनर आर्यान्स शर्मा र निलांश केसवानीले समान १८÷१८ रन बानाए ।
बलिङमा नेपालका करण केसीले चार विकेट लिए । उनले ९.२ ओभर बिलङ गर्दै जम्मा १९ रन खर्चिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई÷दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी एकएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हानेका थिए ।
यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५÷१५ तथा भीम सार्कीले १० रन बनाए । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई÷दुई रन जोड्दै पेभेलियन फर्किए ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिए । खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक÷एक विकेट लिए ।
जितसँगै २१ खेलबाट १४ अङ्क बनाएको नेपाल सातौँ स्थानमा यथावत छ । समान खेलबाट १० अङ्क बनाएको युएई अन्तिम तथा आठौँ स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन अबका हरेक खेल जित्नै पर्ने अवस्था छ ।
नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।
सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकप छनोटका लागि सन् २०२४ बाट आठ टोलीले प्रस्पिर्धा गरिरहेका छन् । हाल २४ खेलमा १८ खेल जितेको अमेरिका ३६ अङ्कसहित शीर्षस्थानमा छ ।
यस्तै २८ खेलबाट ३४ अङ्क बनाएको स्कटल्यानन्ड दोस्रो, २४ खेलबाट २९ अङ्क बनाएको ओमान तेस्रो, २४ खेलबाट २८ अङ्क बनाएको नेदरल्यान्ड्स चौथो स्थानमा छ । २८ खेलबाट २२ अङ्क बनाएको नामिबिया पाँचौँ र २४ खेलबाट २१ अङ्क बनाएको क्यानडा छैटौँ स्थानमा छ ।
हरेक टोलीले ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकपमा सोझै छनोट हुने छन् । बाँकी चार टोलीले छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने छन् ।