मुद्दा फर्छ्यौटमा देशमै उत्कृष्ट बनेका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिदाइ
पढ्न लाग्ने समय :
कञ्चनपुर जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा फर्छ्यौटमा देशभरकै उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन जिल्ला न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।
जिल्ला अदालत कञ्चनपुरका कर्मचारी, कानुन व्यवसायी तथा विभिन्न सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरूले संयुक्त रूपमा न्यायाधीश भण्डारीको सम्मानसहित बिदाइ गरेका हुन्। कञ्चनपुर जिल्ला अदालत बार एसोसिएशनले आयोजना गरेको “फेरि भेटौँला” कार्यक्रममा सहभागीहरूले अबिर, खादा तथा मायाको चिनो प्रदान गर्दै उनको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
न्याय परिषद्को निर्णयअनुसार न्यायाधीश भण्डारीको सरुवा काठमाडौं जिल्ला अदालतमा भएको हो। बिदाइ कार्यक्रममा बोल्दै उनले कानुनको शासन, निष्पक्ष न्याय सम्पादन तथा नागरिकप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
न्यायाधीश भण्डारीको कार्यकालमा कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा देशभरका जिल्ला अदालतमध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्दै पहिलो स्थान हासिल गरेको थियो। उक्त उपलब्धिलाई अदालतको कार्यसम्पादनमा उल्लेखनीय सफलताका रूपमा हेरिएको छ।
यसैगरी, आर्थिक वर्ष २०८२ को फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनले कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। उनको नेतृत्वमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विवादरहित रूपमा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागीहरूले न्यायाधीश भण्डारीको कार्यकुशलता, इमान्दारिता र न्याय सम्पादनप्रतिको समर्पणको प्रशंसा गर्दै काठमाडौं जिल्ला अदालतमा पनि सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।