मिथिला महाकुम्भ आज सम्पन्न हुँदै

Monday March 25, 2024

पढ्न लाग्ने समय :


महोत्तरी । यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ पनि भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर गृह परिक्रमा हो । अन्तिम अर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ । मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । जसमा नेपालतर्फ धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित श्री राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर गृहमा सहभागी हुन्छन् । त्यसैले यस यात्रामा लाखौँको सहभागी हुँदै आएको छ । करिब आज मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा आज एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष) ले जनाएको छ ।

अन्तर गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । अघि त्रेता युगमा श्रीराम जानकी जनकपुरधाम ओरीपरी विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ । मध्यमा र आजको अन्तर गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् । मिथिलामा परिक्रमाको १५ औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने तयारी छ ।

मिथिलामा परिक्रमाको परम्परा त्रेता युगकालीन श्रीराम जानकीसँग जोडिएर गरिएको भनिन्छ । यद्यपि यसको समापनमा सत्ययुगकालीन भक्त प्रह्लाद, उनका राक्षस पिता हिरड्ण्कशिपु र राक्षसी फुपू होलीका दहनको कथा पनि जोडिन्छ । हिरड्यण्कशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्न आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगो लगाउँदा प्रह्लाद ध्यान मुद्रामा रहेका र होलिका डढेर भष्म भएकी कथा यहाँ जोडिएको प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।

रामायण वा सत्ययुगकालीन सबै घटना जोडिएर यी कथाले मान्छेलाई सत्कर्ममा लाग्न अभिप्रेरित गरेको पाका मैथिलको मत छ । तसर्थ राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व परम्परा चलेको मैथिल परम्पराका जानकार बलवा–१० धमौराका कामेश्वर झा बताउँछन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ