माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

Sunday November 17, 2024

पढ्न लाग्ने समय :


वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाल्नुभयो । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लाग्नुभयो ।

“सुरुआतमा बुबाले धानखेती हुँदै एक÷दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो”, हरिरामले भन्नुभयो । विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहनुभएको उहाँ बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय हुनुभयो । माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने गरेको हरिराम सुनाउनुहुन्छ ।

“धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ”, उहाँले भन्नुभयो, “माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक रु ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु ।” एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउनुहुन्छ । माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उहाँको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिनुभएको छ । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उहाँले बताउनुभयो । हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ ।

उहाँकी छोरी हाल चिकित्सा शिक्षा पढिरहनुभएको छ । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् । “शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ”, हरिरामले भन्नुभयो, “सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।”


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।