‘महानगर बनाउदा घाटा छ, बरु नगरपालिका बनाउ’
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले महानगर बनाउदा कुनै फाइदा नभएको बताएका छन्। धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउने हल्ला चलेका बेला नगर प्रमुख हमालले कुनै फाइदा नभएको बताएका हुन्।
धनगढीलाई छिमेकी पालिकाहरू जेडेर महानगरपालिका बनाउने प्रस्तावप्रति उनले असहमति जनाउँदै उल्टै नगरपालिका बनाउन उपयुक्त हुने बताए। उनले भने, ‘महानगरपालिका बनाउन कुनै फाइदा छैन। महानगरपालिका बनाउनु भनेको फेरि गाउँहरू थप गर्नु हो। धनगढीका पाँच वडाको आम्दानीले १९ वटा वडा विकास गर्नु परेको छ। फेरि गाउँ जोडेर महानगर बनाउनु हुँदैन। बरु नगरपालिका बनाउदा ठिक।’
आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको विषयमा आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक कुराकानी गर्दै उनले महानगरपालिकामा संघीय सरकारबाट कम मात्र विकास बजेट आउने बताए।
उनका अनुसार महानगरपालिका बनेपछि धेरै ग्रामीण बस्ती समेटिने भएकाले समग्र विकास छरपस्ट हुने र अपेक्षित उपलब्धि नदेखिने जोखिम रहन्छ। ‘महानगरपालिका भयो भने विकास देखिँदैन, बरु करको भार बढ्ने सम्भावना हुन्छ,’ उनले भने।
सञ्चारकर्मीहरूले उनको राजनीतिक भविष्यबारे जिज्ञासा राख्दा उनले हाँस्दै प्रतिक्रिया दिए। राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्यमा सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने चर्चा सम्बन्धी प्रश्नमा उनले भने, “अघिल्लो चुनावमा पनि यस्तै हल्ला चलेको बताए। उनले भने, ‘अस्तिको चुनावमा पनि यस्ता हल्ला चलेकै हुन। फेरि पनि चल्छन्। प्रतिनिधि सभाको चुनाव सकिएपछि हल्ला पनि सकियो। फेरि प्रदेशको चुनाव सकिएपछि यो हल्ला पनि सकिन्छ।’ नगर प्रमुख हमालले संघीय विकास बजेट महानगरपालिकामा कम आउने दाबी गरेका हुन्।