मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

Friday July 31, 2026

पढ्न लाग्ने समय :


नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका विभिन्न जिल्लामा फैलिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवसहित नेपाली नागरिकको ज्यान गएको तथा दर्जनौं घाइते भएको उल्लेख गर्दै उनले घटनालाई अत्यन्त दुःखद बताएका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले संवेदनशील परिस्थितिमा सरकारले प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लगाए। तनाव र कर्फ्युका बीच नागरिकले सरकारको उपस्थिति खोज्दा विशेषगरी गृह प्रशासन जिम्मेवार ढंगले सक्रिय हुन नसकेको उनको भनाइ छ।

प्रधानमन्त्रीले सम्बोधनमार्फत गृह मन्त्रालयअन्तर्गत समिति गठन गरेर छानबिन गरिने बताए पनि थापाले त्यसप्रति असन्तुष्टि जनाएका छन्। गृह मन्त्रालयकै समिति पर्याप्त नहुने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष सत्यतथ्य बाहिर ल्याउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन स्वतन्त्र र विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्।

उनले विगतका घटनामा पनि सरकारले छानबिनको आश्वासन दिए पनि प्रभावकारी अनुसन्धान हुन नसकेको उल्लेख गर्दै यसपटक गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरे।

थापाले घटनाको जिम्मेवारी संघीय सरकारमा मात्र सीमित नरहेको भन्दै मधेस प्रदेश सरकारको पनि समान जिम्मेवारी रहेको बताए। आफूले मधेस प्रदेशका मुख्यमन्त्रीसँग थप सक्रिय पहलका लागि आग्रह गरेको र प्रभावित जिल्लाका स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिसँग पनि निरन्तर संवाद गरेको जानकारी दिए।

स्थानीय जनप्रतिनिधिको भूमिका अहिले सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दललाई शान्ति स्थापना, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै, नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई हिंसा, उत्तेजना वा मिथ्या सूचना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिँदै त्यस्ता गतिविधि पार्टीलाई स्वीकार्य नहुने चेतावनी दिए।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै थापाले नेपालले अर्को हिंसाको चपेटा थेग्न नसक्ने भन्दै सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा भ्रम, घृणा र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरे।

घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले घाइतेको उपचार, सम्पत्तिमा भएको क्षतिको निष्पक्ष मूल्याङ्कन र सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको भए त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए। साथै, आगजनी र हिंसामा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।

सभापति थापाले वर्तमान संवेदनशील अवस्थाको फाइदा उठाएर समाजलाई विभाजित गर्न खोज्ने शक्तिप्रति सचेत रहन सबैलाई आग्रह गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र बन्धुत्व नेपालको साझा सम्पत्ति भएको उल्लेख गरे। सरकारको भूमिकामाथि प्रश्न उठाउने र जवाफदेहिता माग्ने काम पछि पनि गर्न सकिने भए पनि अहिलेको पहिलो प्राथमिकता देशमा शान्ति कायम गर्नु रहेको उनको जोड छ।


भर्खर

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा

विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा

मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका