मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

Wednesday May 10, 2023

पढ्न लाग्ने समय :


गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।

आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरेर अध्यापन गराउने गरी अहिले पाठ्यपुस्तक छपाईको तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

“पछिल्लो समय नयाँ पुस्ताले मगर भाषामा चासो दिन छाडेका छन्, गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सक्ने कानुनअनुसार अहिले कक्षा १ मा जेठ महिनाबाट अध्यापन गरिने गरी मगर भाषाको पाठ्यपुस्तक तयार भएको छ”, घर्तीले भने, “परीक्षणका लागि यो शैक्षिकसत्रमा कक्षा १ मा मात्रै लागू गर्नेछौँ, मगर भाषाको लिपि नभए पनि बोलीचालीको भाषालाई संरक्षणमा सहयोग पुग्नेछ, नयाँ पिँढीले समेत मगर खाम भाषा बोल्न सक्नेछन् ।”

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएका कारण भाषा संरक्षण थालिएको हो ।  यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएका कारण गाउँपालिकाले पाठ्युस्तक बनाएर संरक्षण थालेको हो । बच्चाले नै पहिलो भाषाका रूपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेकाले भाषा जोगाउन पाठ्यपुस्तक नै बनाएर अध्ययन गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले खाम अध्यापनका लागि शिक्षक नियुक्तिका लागि समेत आवश्यक समन्वय गरिसकेको छ । पछिल्लो पुस्तामा खाम भाषाप्रति चासो नदेखिएकाले समस्या भएको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीय अम्मर बुढामगरले जानकारी दिए । उनले परम्पराकालदेखि चल्दै आएको भाषा संरक्षणमा गाउँपालिकाले चासो दिनु सकरात्मक भएको बताए ।

बुढामगरले भने, “खामबाट बनेका गीत अहिले सुन्न पाइँदैन, लोप भइसके, सबैले आफ्ना छोरा–नातिलाई खाम सिकाउन आवश्यक छ, गाउँपालिकाले भाषा संरक्षणका लागि अझै जोड दिन आवश्यक छ, पुर्खाको भाषा जोगाउन आवश्यक छ, कतिपयले खाम बोल्नै बिर्सेको अवस्थासमेत छ ।”

गाउँपालिकाले मगर भाषा संरक्षणसँगै गाउँपालिकाको भल्कोटमा रहेको परम्परागत पुचली नाच संरक्षणमा समेत चासो दिएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।