भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

Friday August 14, 2026

पढ्न लाग्ने समय :


लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ। नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडी कपल्लीमा वि.सं. २०३१ पुस २ गते पिता रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका ६ सन्तानमध्ये साइँलो छोराका रूपमा जन्मिनुभएका भट्टले प्रारम्भिक शिक्षा मणिलेखबाट हासिल गर्नुभएको थियो। उहाँले सहस्रलिङ्ग माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरी सिद्धनाथ बहुमुखी क्याम्पसबाट आईएल अध्ययन गर्नुभएको हो।

२०४७ सालदेखि राजनीतिक यात्रा

भट्टले २०४७ साल असार २८ गते तत्कालीन नेकपा एकता केन्द्रको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। २०५० असोज १३ गतेदेखि उहाँ पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय हुनुभयो।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीको डडेल्धुरा जिल्ला कमिटी सदस्य रहेका बेला उहाँ पक्राउ पर्नुभयो। त्यस क्रममा उहाँमाथि राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा लगाइएको थियो।

भट्टको राजनीतिक यात्रामा उहाँका जेठा दाजु जयराज भट्टको महत्वपूर्ण प्रभाव रहेको थियो। दाजुको राजनीतिक प्रशिक्षण र सिकाइबाट आफू माओवादी आन्दोलनतर्फ आकर्षित भएको उहाँले बताउँदै आउनुभएको छ।

२०५९ जेठ २३ गते बझाङमा तत्कालीन नेपाली सेनाबाट जयराज भट्टको हत्या भएको थियो। त्यसबेला जयराज बझाङ र बाजुराको पार्टी इन्चार्जका रूपमा कार्यरत हुनुहुन्थ्यो। दाजुको राजनीतिक योगदान र बलिदानलाई भट्टले आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण प्रेरणाका रूपमा स्मरण गर्दै आउनुभएको छ।

पार्टी नेतृत्वमा निरन्तर उकालो

राजनीतिक यात्राका क्रममा जिल्ला कमिटी, उपक्षेत्रीय तथा क्षेत्रीय ब्युरो हुँदै भट्ट २०५८ साल असारमा तत्कालीन नेकपा माओवादीको दार्चुला–बैतडी–डडेल्धुरा संयुक्त जिल्ला समितिको सचिव बन्नुभयो।

२०५९ सालमा दार्चुला–बैतडी जिल्ला इन्चार्ज र २०६० सालमा पार्टी केन्द्रीय सदस्य बन्नुभएका उहाँले तत्कालीन सेती–महाकाली राज्य समितिको सचिवदेखि सुदूरपश्चिम सहइन्चार्ज र इन्चार्जसम्मको जिम्मेवारी सम्हाल्नुभयो।

भट्टको परिवारका धेरै सदस्य माओवादी आन्दोलनसँग जोडिएका थिए। उहाँका जेठा दाजु तथा भाउजू, स्वयं भट्ट र उहाँकी श्रीमतीसमेत पूर्णकालीन माओवादी राजनीतिमा सक्रिय हुनुभएको थियो।

२०६० सालमा युद्धकै क्रममा अछामको भाटाकाटियामा उहाँको विवाह मञ्जु बमसँग भएको थियो। सांस्कृतिक फाँटमा सक्रिय मञ्जु बमले रेडियो सेती–महाकाली जनगणतन्त्र रेडियोमा समाचारवाचिकादेखि निर्देशकसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो।

भट्टका अर्का दाजु महेश्वरदत्त भट्ट शिक्षक हुनुहुन्छ। कान्छा भाइ उमेशप्रसाद भट्ट अजयमेरु गाउँपालिकामा लगातार दुई पटक अध्यक्ष निर्वाचित भएर जनसेवामा सक्रिय हुनुहुन्छ।

देउवासँगको चुनावी प्रतिस्पर्धादेखि प्रदेशसभासम्म

भट्टको संसदीय राजनीतिक यात्रामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको चुनावी प्रतिस्पर्धा विशेष चर्चामा रह्यो।

उहाँले २०६४, २०७० र २०७४ सालका प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट देउवाविरुद्ध उम्मेदवारी दिनुभएको थियो। २०७४ सालमा वाम गठबन्धन बनेको अवस्थामा समेत उहाँ देउवासँग पराजित हुनुभयो।

तर २०७९ सालको निर्वाचनले भट्टको राजनीतिक यात्रामा नयाँ मोड ल्यायो। उहाँ डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभयो। १२ हजार ११२ मत प्राप्त गर्दै नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गरी उहाँ पहिलोपटक सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गर्नुभयो।

मुख्यमन्त्री बन्ने आश्वासनसहित प्रदेशसभा निर्वाचनमा होमिएको स्मरण गर्दै भट्टले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै आउनुभएको छ।

नातावाद अन्त्य गर्ने दाबी

योग तथा ध्यानमा रुचि राख्ने र शाकाहारी जीवनशैली अपनाउने भट्टले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो सचिवालयमा नातावाद र कृपावादलाई प्रश्रय नदिने बताउनुभएको छ।

आफ्नो सचिवालयमा रक्तसम्बन्ध भएका व्यक्तिलाई नराख्ने उहाँको अडान छ। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उहाँले व्यक्त गर्दै आउनुभएको छ।

कामबाटै प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने चुनौती

प्रदेश सरकारले आर्थिक भार बढाएको भन्दै प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला भट्टले सरकारको कामबाटै प्रदेशको आवश्यकता पुष्टि गर्ने बताउनुभएको छ।

प्रदेश सरकारले निर्माण गरेका सडक तथा अन्य पूर्वाधारलाई जनताको दैनिक जीवनसँग जोड्दै प्रदेश सरकारको औचित्य स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

लामो भूमिगत राजनीतिक जीवन, पारिवारिक बलिदान, पटक–पटकको चुनावी प्रतिस्पर्धा र संसदीय यात्रापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा पुग्नुभएको छ।

अब उहाँको नेतृत्वमा प्रदेश सरकारले विकास, सुशासन र जनसेवाका क्षेत्रमा कस्तो गति लिन्छ तथा प्रदेश संरचनाको औचित्य पुष्टि गर्न कत्तिको सफल हुन्छ भन्ने विषय चासोको विषय बनेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।