बैतडी बस दुर्घटनामा घाइते वृद्धको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : बैतडीमा असार २० गते भएको बस दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका-२, हसौडाका करिब ८० वर्षीय रामदत्त पाण्डेय रहेका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
उक्त दुर्घटनामा घाइते भएका अन्य केही यात्रुको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस असार २० गते शुक्रबार दिउँसो करिब साढे ३ बजे पाटन नगरपालिका–९ गैराखान क्षेत्रमा दुर्घटनामा परेको थियो। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए। उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक पुगेको छ।