बैतडीमा लगातार वर्षा र असिनाले बालीनालीमा क्षति

Friday May 15, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा केही दिनयता लगातार भइरहेको वर्षा र असिनाले गहुँबाली, तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ । दैनिकजसो पानीसँगै असिना पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
किसानका अनुसार धेरै स्थानमा गहुँ काटेर खेतमै राखिएको अवस्थामा छ भने कतिपय ठाउँमा भित्र्याउन नपाउँदै गहुँ कुहिन थालेको छ । पाटन नगरपालिका–६ की किसान कविता पन्तले वैशाखको पहिलो सातामै गहुँ काटिएको भए पनि निरन्तर वर्षाका कारण अझै घर भित्र्याउन नसकिएको बताए । उनले खेतमा राखिएको गहुँ कुहिएर कालो हुन थालेको गुनासो गर्नुभयो ।
त्यस्तै सूर्नया गाउँपालिका–४ का किसान हरि महराले गहुँ काटेको झन्डै एक महिना पुग्न लाग्दा पनि पानीका कारण भित्र्याउन नपाइएको बताए । “मकै छर्ने समयसमेत भइसक्यो, अब के गर्ने भन्ने चिन्ता छ,” उनले भने ।
सूर्नया–३ की किसान देवकी भट्टले पनि त्रिपालले छोपेर राखिएको गहुँसमेत कुहिन थालेको बताए । उनका अनुसार लगातारको वर्षाले गहुँ कालो भइसकेकाले आगामी वर्षका लागि राखिएको बीउसमेत नष्ट हुने चिन्ता बढेको छ ।
किसानहरूले पानीसँगै परेको असिनाले आलुलगायत तरकारीबालीमा समेत क्षति पु¥याएको बताएका छन् । सूर्नयाका किसान नवराज अवस्थीले असिनाका कारण तरकारीबाली नष्ट हुन थालेको बताए।
फलफूल खेतीमा समेत असिनाले असर पु¥याएको किसानहरूको भनाइ छ । फूल फुल्ने तथा फल लाग्ने चरणमा रहेका बोटबिरुवामा असिनाले क्षति पु¥याएपछि उत्पादन घट्ने चिन्ता बढेको छ । कतिपय स्थानमा गहुँबाली अझै काट्न बाँकी रहेकामा असिनाले बाली ढालेर थप नोक्सानी पु¥याएको किसानहरूले बताएका छन् ।
बुधबार दिउँसोसमेत बैतडीका विभिन्न स्थानमा हावाहुरीसहित परेको पानी र असिनाले कृषिबालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । यस्तै, बैतडीका विभिन्न सल्लेरी वन क्षेत्रमा हजारौँ सल्लाका रुख ढलेर ठुलो क्षति भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।