बैतडीमा भागेकामध्ये ५२ जना कैदीबन्दी पक्राउ
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति बैतडी कारागार ताडेर भागेकामध्ये ५२ जना कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनका क्रममा कारागार तोडेर भागेका कैदीबन्दीलाई पक्राउ गर्न संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पूण्यबिक्रम पौडेलले अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरिएको जानकारी दिए ।
फरार रहेका १० जना अन्य कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रजिअ पौडेलले बताए ।
भदौ २४ गते राति बैतडी कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये चारजनालाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्नका भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले सूचना जारी गर्दै भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई आत्मसमर्पण गर्न चेतावनी दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले संयुक्त अपरेसन सञ्चालन गरी बैतडीबाट भागेकामध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार बैतडी प्रहरीले डडेल्धुराबाट भागेका ६ जना, डोटीका चार र दार्चुला कारागारबाट भागेका एक जनालाई पक्राउ गरिएको छ ।