बाढीका कारण विस्थापित भएको विद्यालय २३ वर्षपछि पुनःस्थापना

Sunday April 16, 2023

पढ्न लाग्ने समय :


त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ ।

नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे । विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि विसं २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो ।

एउटै परिसरबाट दुईवटा विद्यालय सञ्चालन भएको केही वर्षपछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीयवासी क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन । विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ । विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ ।

विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगरप्रमुख अधिकारीले बताए । जनतासिद्ध विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उनले अभिभावकले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताए ।

पहिलो चरणमा स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्र वडा नं १४ का सबै विद्यालयमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उनले बताए । मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले काम भइरहेको जनाउँदै उनले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताए ।

मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकको माग, नगर शिक्षा समिति र नगरकार्यपालिकाको निर्णयानुसार विद्यालय स्थापना भएको बताए ।

विद्यालय सञ्चालनका लागि समुदायस्तरबाट सहयोग हुने स्थानीय अभिभावकले प्रतिबद्धता व्यक्त गरे । “विद्यालय यहाँबाट विस्थापित हुनुपहिले पाँच सय ६० विद्यार्थी यहीँ पढ्थे । विद्यालय लुसलहरि गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो । गाउँका विद्यार्थीले पनि दुःख पाए”, विद्यालय स्थापना तयारी समितका संयोजक श्यामनारायण महतोले भने ।

विद्यालयका पूर्वशिक्षकसमेत रहेका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभए पनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाइ बनाउन सबै समुदाय एकबद्ध भएको बताए । आजदेखि वैशाख १० गतेसम्म विद्यालयले भर्ना अभियान सञ्चालन गर्ने मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।