बाजुराको त्रिवेणी-बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या
पढ्न लाग्ने समय :
बाजुराः बाजुराको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् ।
नेटवर्क सहज बनाउन नेपाल टेलिकमले तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि स्थानीयले अझै पनि प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन्।
गाउँगाउँमा टेलिफोन टावर निर्माण भए पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्रिवेणी र बुढीगङ्गा क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यसअघि छिमेकी त्रिवेणी नगरपालिका–४, तोलीमा रहेको टावरको भरमा स्थानीयले फोन सेवा प्रयोग गर्दै आएका थिए ।
बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालका अनुसार पहिले तोलीको टावरले राम्रो काम गरे पनि अहिले गाउँमै टावर बनेपछि झन् समस्या बढेको छ । स्थानीयले पटक–पटक नेपाल टेलिकम शाखा बाजुरामा जानकारी गराए पनि समस्या समाधान भएको छैन।
यस विषयमा नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बानेगाउँ क्षेत्रमा नेटवर्क सहज बनाउन सब–टावर राखिएको भए पनि समस्या आएकोबारे औपचारिक जानकारी प्राप्त नभएको बताए । यता बुढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँका अनुसार विगत पाँच महिनादेखि क्षेत्रमा नेटवर्क समस्या रहँदै आएको छ ।