बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो
पढ्न लाग्ने समय :
पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको मासु तथा चल्लाको मूल्य क्रमशः बढ्न थालेपछि लामो समयदेखि घाटामा रहेका किसान र व्यवसायीले केही राहत महसुस गर्न थालेका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबारदेखि अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्महरूको दररेटलाई आधार बनाएर प्रतिक्रेट रु ३० ले मूल्य वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५३०, मिडियम अण्डाको रु ५००, एक्सएल अण्डाको रु ५४५ तथा सानो अण्डा (सात क्रेटको पेटी) रु ३ हजार कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य रु ५००, मिडियम रु ४७०, एक्सएल रु ५१५ र सानो अण्डा प्रतिपेटी रु २ हजार ९०० रहेको थियो।
अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा अण्डाको खपत बढ्नु, उत्पादन घट्नु तथा आपूर्तिमा कमी आउनु मूल्य वृद्धिको प्रमुख कारण रहेको बताए। उनका अनुसार बर्डफ्लुका कारण ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४५० सम्म झरेको थियो। अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९.१२ पर्ने भएकाले किसानले प्रतिक्रेट कम्तीमा रु ५७३.६० पाएमात्र लागत उठ्ने अवस्था रहेको उनले बताए।
उनका अनुसार बर्डफ्लु र एच–नाइनका कारण करिब १० लाख लेयर्स कुखुरा मरेका छन्। चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको थियो। दैनिक करिब १५ लाख अण्डा उत्पादन घट्दा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए।
यस्तै, ब्रोइलर चल्ला र कुखुराको मासुको मूल्य पनि बढ्न थालेको छ। हाल ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ। रोगको प्रकोपका बेला ह्याचरी उद्योगीले प्रतिगोटा रु १५ मै चल्ला बिक्री गर्न बाध्य भएका थिए।
ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ६५ तथा लेयर्स चल्लाको लागत रु १२५ रहेको छ। हाल लेयर्स चल्ला बजारमा प्रतिगोटा रु १५० मा बिक्री भइरहेको छ। अहिले सातामा २८ देखि ३० लाख ब्रोइलर चल्ला र करिब एक लाख लेयर्स चल्ला उत्पादन भइरहेको छ। बर्डफ्लुभन्दा अघि भने सातामा ४० देखि ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेको थियो।
कुखुराको मासुको बजारमा पनि सुधार देखिएको छ। रोगको प्रकोपअघि दैनिक नौ लाख किलो बिक्री हुने मासु सङ्क्रमणपछि पाँच लाख किलोमा झरेको थियो। अहिले दैनिक बिक्री सात लाख किलोसम्म पुगेको छ। किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बेच्न बाध्य भएको अवस्था अहिले सुधार भई रु २१५ पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए। उनले रोगका कारण पोल्ट्री क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको क्षति भएको बताए।
पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ सङ्क्रमण पुष्टि भएको छैन। पछिल्लोपटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो। विभागका अनुसार चैत ४ गते पीसीआर परीक्षणबाट रोग पुष्टि भएपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा तथा दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ।