प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

Thursday July 27, 2023

पढ्न लाग्ने समय :


बेनी। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ। किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो।

शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ। यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।

विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयमले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए। उनका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीले एक हजार किलोग्राम बढी आलु उत्पादन गरेर बिक्री गरिसकेका छन्।

यसअघि उनीहरुले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए । विद्यार्थीले चार रोपनी जग्गामा धान खेतीसमेत गरेका छन्। यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दैै आएका छन्।

‘‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्, व्यवहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन’-शिक्षालयका प्रमुख कँडेलले भने।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल एक सय ४२ जना अध्ययनरत छन्।

यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र पशु शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमासमेत आवद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानध्यापक जङ्गबहादुर गर्बुजाले जानकारी दिए । यस शिक्षालयले १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानतर्फ ४०/४० जना सिटमा भर्ना खुलाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।