प्रधानमन्त्री कार्कीको राजिनामा माग्दै बालुवाटारमा मध्यरातमा नाराबाजी
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते ।
मन्त्री छनोटप्रति असन्तुष्टि व्यक्त गर्दै सुदन गुरुङ समुहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । आइतबार मध्यराती प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले चर्को नाराबाजी गरेका थिए ।
आक्रोसित युवाहरूले नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीको राजीनामा समेत मागे । प्रदर्शन र नाराबाजीबीच जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिका परिवारका सदस्यहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
प्रधानमन्त्री निवास अगाडी जेनजी अभियन्ता सुदनले सबैभन्दा शक्तिशाली नेपाली जनता भएकोले आफूहरूलाई कसैले रोक्न नसक्ने दृढता व्यक्त गरे । उनले भने– हामीले जुन ठाउँमा लगेर राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौ ।
कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीमा नियुक्त भएको समाचार सार्वजनिक भएपछि अभियन्ता सुदन र उनी समर्थित युवाहरू दिउँसोदेखि नै आक्रोसित भएका थिए । केही सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
सुदन समूहले आफूहरूसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्टि र आक्रोस व्यक्त गरेको छ । सुदनले अर्यालको नामै लिएर आक्रोस समेत व्यक्त गरेका छन् । सुदन समर्थकहरूले आफूहरूको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।