पोखरा विश्वविद्यालयमा नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छ : उपकुलपति अर्याल

Tuesday July 18, 2023

पढ्न लाग्ने समय :


कास्की । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको २७ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताए ।

“पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैँमा धानिन सक्ने गरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन दिनुपर्छ”, उनले भने, “कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको छ ।”

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाइडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत भनेको नै विद्यार्थी भएकाले नयाँ–नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिए ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्राडा अजय थापाले विश्वविद्यालय शून्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको छ भने ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताए । उनले विद्यार्थी कलेक्सन नभई सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्राडा अमर नागिला, व्यवस्थापन सङ्कायका डीन सह प्राडा दयाराज ढकाल, परीक्षा नियन्त्रक सह प्रा तुल्सीराम भण्डारी, कार्यकारी परिषद्का सदस्य उपप्राध्यापक योगराज लामिछाने, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा डा दीपकराज पौडेल, प्राध्यापक सङ्घका सभापति सह प्राडा निरञ्जन श्रेष्ठलगायतले विश्वविद्यालयले शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राख्नुुपर्ने आवश्यकता औँल्याए ।

स्थापना भएको २६ वर्ष पूरा भई २७औँ वर्ष लागेको पोखरा विश्वविद्यालय ऐन, २०५३ विसं २०५४ साउन १ गतेदेखि जारी भई लागू भएकाले हरेक वर्ष साउन १ गतेलाई पोखरा विश्वविद्यालय स्थापना दिवसका रूपमा मनाइँदै आइएको छ । दिवसका अवरमा विश्वविद्यालयले सोमबार विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाइसमेत गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।