पशुपतिनाथको धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने

Thursday December 14, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ। आराध्यदेव श्री पशुपतिनाथका नाममा धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले श्री पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्विद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान् भोलेनाथले वर्षाउनुहुने स्रोतले नै विश्विद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।

कोषले गठन गरेको समितिले शिवसङ्कल्पका आधारमा विश्विद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो ।

“पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ”–उनले भने ।

समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताए ।

मानवमात्रको विश्वविद्यालय बनाउनेगरी कानुनको मस्यौदा भइरहेको उनले जानकारी दिए । विश्विद्यालयलाई राजनीतिक छायाका रुपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रुपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाए।

कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराए । सांस्कृतिक अध्ययन अनुसन्धानको नमूनास्थलका रुपमा विश्वविद्यालयलाई अघि बढाइने उनको प्रतिबद्धता थियो ।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउनुहुँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराए । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उनको भनाइ थियो ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरुप निर्धारण गर्न लागिएको जानकारी गराए। कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उनले बताए ।

कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक खतिवडाले गराए । शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।