‘पढाइ कुना’ले सुधार्दै सिकाइस्तर

Saturday March 4, 2023

पढ्न लाग्ने समय :


राँझा । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ निवासी प्रकृति थारूको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृतिको विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन । अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि प्रकृतिको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको हो ।

प्रकृतिको घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ । प्रकृतिको पढाइ कुनामा कापी, कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट घर फर्केपछि प्रकृतिले झोला र विद्यालय पोसाक व्यवस्थित तरिकाले राख्ने गरेको आमा आरती थारूले बताइन् ।

“पहिले घरमा पढ्ने बानी थिएन, पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ”, आरतीले भनिन्, “हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन, सरहरुले सिकाएर बनाउन लगाउनुभयो, अहिले धेरै राम्रो भएको छ ।”

गेरुवा गाउँपालिका–५ बर्दिया निवासी आइसा थारू हरेक दिन विद्यालयबाट घर फर्किएपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न सुरु गर्छिन् । उनी त्यही कोठामा पढ्छिन् ।

“पहिले घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन, आजभोलि नियमित पढ्न मन लाग्छ”, आइसा भन्छिन्, “पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ, पढौँ पढौँ लाग्छ, पहिले घरमा पढ्नै मन लाग्दैन्थ्यो, विद्यालयमा मात्रै पढ्ने हो जस्तो लाग्थ्यो, अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ ।”

पढाइ कुनामा रहेका बालबालिकालाई घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेका छन् ।

यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको बारबर्दिया नगरपालिका–११ स्थित विजय प्राथमिक विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र थारूले बताए ।

पढाइ कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको उनको भनाइ छ । बर्दियामा स्थानीय तहसँगको समन्वयमा प्लान इन्टरनेसनल नेपाल र स्याक नेपालद्वारा बालबालिकाको सिकाइस्तर बढाउन पढाइ कुना अभियान सञ्चालन गरिएको छ ।

सिकाइ परियोजनाअन्तर्गत बर्दियाको बारबर्दिया गाउँपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा परियोजना सञ्चालन भएका करिब दुई सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाका प्रमुख लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

“विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुआत गरेका छौँ”, परियोजना प्रमुख शर्माले भने, “पढाइ कुनाले अहिले बालबालिकाको घरमा पढ्ने बानी बस्नाका साथै दैनिक क्रियाकलाप नै फेरिएको छ ।”

बर्दियाका उक्त पालिकाको समन्वयमा २५ विद्यालयको सेवाभित्रका २५ समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइस्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका सात हजार बालबालिकाका लागि सिकाइ केन्द्र सञ्चालन गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले पढाइ कुना र सिकाइ केन्द्रले बालबालिकाको सिकाइस्तरमा सुधार आउनाका साथै अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत भएको पाइएको बताए ।

प्लान इन्टरनेसनल नेपाल तथा स्याक नेपाल बाँकेले शैक्षिक गुणस्तर वृद्धिका लागि पूर्व प्राथामिक कक्षालाई नमुना बनाउने, आइसिटी सहयोगमार्फत प्रविधिमैत्री सिकाइ, अभिभावक शिक्षा, भौतिक पूर्वाधार निर्माणका साथै पालिकास्तरको शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रम निर्माणमा भूमिका निर्वाह गर्दै आएको स्याकका अध्यक्ष शिवलाल पाण्डेले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।