न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात मजदुरको माग

Sunday May 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : यातायात मजदुरहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै सबै मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउन माग गरेका छन् ।
धनगढीमा आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई कमिटी धनगढीको छैटौं अधिवेशनमा सहभागी मजदुर नेतृत्वले मजदुरको सुरक्षा, सम्मान र श्रम अधिकार सुनिश्चित गर्न सरकार तथा व्यवसायी गम्भीर हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले यातायात क्षेत्रमा कार्यरत मजदुर र उनीहरूको परिवारको सुरक्षाका लागि सबै मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले मजदुरले अझै पनि न्यूनतम पारिश्रमिक, बीमा तथा सामाजिक सुरक्षाको सुविधा नपाएको गुनासो गर्नुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम अध्यक्ष जित बहादुर मल्लले यातायात क्षेत्रसँगै सबै क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताउनुभयो । उहाँले कोषमा आबद्ध हुँदा मजदुर र व्यवसायी दुवैलाई दीर्घकालीन लाभ पुग्ने उल्लेख गर्दै यसको कार्यान्वयन अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ढुवानी व्यवसायी खगेश्वर बोहराले आफ्नै संस्थाबाट सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले चालक तथा सहचालकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित नगरी यातायात क्षेत्रको सुधार सम्भव नहुने बताउनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा मजदुर र मालिक दुवैले नियमित योगदान गर्नुपर्ने उल्लेख गर्दै यातायात नीति परिमार्जन, सडक सुरक्षा नीति लागू तथा व्यवहारिक सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी मजदुर नेताहरूले यातायात क्षेत्रमा कार्यरत मजदुर अझै असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको बताएका छन् । उनीहरूले न्यूनतम पारिश्रमिक कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।