नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्य

Monday September 11, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी भएको सम्झौताका लागि काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद दिँदै प्रहरीका कर्मचारीका सन्ततिलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा.  थापाले नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले उल्लेख गरे ।

उक्त सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र नौवटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलको समग्र शैक्षिकस्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।

उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेल एवं प्रहरी वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।