नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, बिरामी डिस्चार्ज गर्न थालियो
पढ्न लाग्ने समय :
वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, प्रशासनिक दुर्व्यवहार तथा सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ९० जना चिकित्सकमध्ये ६८ जनाले सामूहिक राजीनामामा हस्ताक्षर गरेर बुझाएका छन्। अन्य चिकित्सकले पनि राजीनामा दिने अवस्था सिर्जना भएको उनले बताए।
“वार्ता र संवादमार्फत समस्या समाधान गरौं, आकस्मिक सेवा सञ्चालन गरौं भनेर आग्रह गरेको थिएँ। तर चिकित्सकहरूले सामूहिक राजीनामाको निर्णय सुनाउनुभयो,” डा. साहले भने।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालसहित देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ। नारायणी अस्पतालमा नयाँ बिरामी भर्ना बन्द गरिएको छ भने उपचाररत बिरामीलाई समेत डिस्चार्ज गर्न थालिएको चिकित्सकहरूले बताएका छन्।
नेपाल चिकित्सक संघ नारायणीका प्रवक्ता डा. अजय यादवका अनुसार चिकित्सकहरूले राजीनामा दिइसकेपछि नियमित सेवा दिन नसकिने अवस्था बनेको हो।
“राजीनामा दिइसकेपछि उपचार सेवा निरन्तर दिन सकिने अवस्था छैन। त्यसैले भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गरिरहेका छौं,” उनले भने।
नारायणी अस्पतालमा दैनिक करिब ८ सयदेखि १ हजार सेवाग्राहीले ओपिडी सेवा लिने गरेका छन्।
वार्तापछि विवाद झन् चर्कियो
सोमबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा भएको वार्तापछि स्थिति थप तनावग्रस्त बनेको चिकित्सकहरूको आरोप छ।
वार्ताका क्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. अमित झाले प्रमुख जिल्ला अधिकारीलाई समस्या समाधान गर्न नसके राजीनामा मागिने चेतावनी दिएपछि विवाद सुरु भएको बताइएको छ। त्यसपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले आक्रोश व्यक्त गर्दै चिकित्सकहरूमाथि अपशब्द प्रयोग गरेको र प्रहरीले बल प्रयोग गरेको चिकित्सकहरूको दाबी छ।
यस क्रममा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकलाई धक्कामुक्का गरेको भिडियो समेत सार्वजनिक भएको छ। चिकित्सकहरूले प्रहरी प्रशासनले वार्तास्थलमै दुर्व्यवहार गरेको, केही चिकित्सकको मोबाइलसमेत नियन्त्रणमा लिएको आरोप लगाएका छन्।
चिकित्सक उदय नारायण सिंहका अनुसार वार्तामा सहभागी चिकित्सकलाई प्रहरी लगाएर रोक्ने, गाली गर्ने र नियन्त्रणमा राख्ने प्रयास भएपछि वार्ता भंग भएको हो।
चिकित्सकका माग
आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमाथि कारबाही, चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने तथा शनिबारको घटनामा उपचारमा लापरबाही भए/नभएको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
कुटपिट घटनापछि आन्दोलन
गत शनिबार हृदयाघात भएपछि वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेललाई नारायणी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट गरेका थिए।
चिकित्सकहरूका अनुसार बिरामीलाई अस्पताल ल्याउँदा उनको अवस्था अत्यन्त गम्भीर थियो र आवश्यक सबै उपचार प्रयास गरिए पनि जोगाउन सकिएको थिएन। घटनापछि गम्भीर घाइते भएका डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ।
प्रहरीले कुटपिट घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।