धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१, बुद्धमन्दिर क्षेत्रका ५६ वर्षीय पतिराम चौधरीलाई शुक्रबार राति छिमेकी महेश श्रेष्ठले ‘आफ्नो कुकुर मारिएको’ भन्दै घरमै बोलाएर लगेका थिए।
प्रहरीका अनुसार श्रेष्ठको घरको सिँढीबाट खसेर चौधरी बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीको घरमा रहेको कुकुरले आफ्नो कुकुर मारेको आरोप लगाउँदै श्रेष्ठले राति नै चौधरीलाई आफ्नो घर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि प्रहरीले महेश श्रेष्ठ, उनकी आमा सुमित्रा श्रेष्ठ, दाजु दिनेश श्रेष्ठ र भाउजु ज्ञानु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। मृतककी श्रीमतीले ‘कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार नै जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
घटना के हो ?
मृतक चौधरी र श्रेष्ठ परिवार छिमेकी हुन्। दुवै घरबीच करिब १०० मिटर दूरी छ। वैशाख २ गते श्रेष्ठको घरमा पालेको कुकुर मरेको थियो।
चौधरीको घरमा पनि एउटा रातो रङको कुकुर आउने–जाने गथ्र्यो, जसलाई परिवारले औपचारिक रूपमा पालेको भने थिएन। श्रेष्ठले त्यही कुकुरले टोकेर आफ्नो कुकुर मारेको दाबी गर्दै शुक्रबार राति करिब ११ बजे चौधरीलाई उठाएर आफ्नो घर लगेका थिए।
मृतककी श्रीमती रूपा चौधरीका अनुसार आधा घण्टासम्म श्रीमान् नफर्किएपछि उनी श्रेष्ठको घर पुगेकी थिइन्। त्यहाँ पुग्दा पतिराम सिँढीमुनि लडेको अवस्थामा बेहोस भेटिएका थिए।
उनका अनुसार श्रेष्ठ परिवारले चौधरीलाई बरफ र पानीले सेकिरहेको देखिएको थियो। ‘कुकुरले टोकेर मारेको देखाउँछु’ भन्दै लगेपछि श्रीमानको हत्या गरिएको उनको आरोप छ।
रूपाले शरीरमा बाहिरी चोटपटक देखिएकाले हत्या भएको दाबी गरेकी छन्।
तर श्रेष्ठ परिवारले भने चौधरीमाथि कुनै कुटपिट नगरेको, सिँढीबाट लड्दा घटना भएको दाबी गर्दै आएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठकी आमा सुमित्राले चौधरी सिँढीबाट तल ओर्लने क्रममा खसेको बताएकी थिइन्।
उनका अनुसार बेहोस भएका चौधरीलाई होसमा ल्याउन पानी र बरफ प्रयोग गरिएको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा फेला परेको र अस्पताल पु¥याएपछि मृत्यु भएको पुष्टि भएको जनाएको छ। घटनाबारे विस्तृत तथ्य अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।