धनगढीमा आचारसंहिता विपरीत उम्मेदवारको तस्विर अंकित टि-सर्ट बिक्री गरिदै
पढ्न लाग्ने समय :
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का तस्विर अङ्कित टि-सर्ट बिक्री हुदैछन। आँचारसंहिता विपरितकाे कार्यमा केही व्यवसायी लागेको पाइएको हाे।
होलीमा आफनो टिसर्ट विक्री गराउन ति व्यवसायीहरुले रवि–बालेन तस्बिर अंकित कपडा, टोपी विक्रीमा ल्याइएको पाइएको छ। फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन्। त्यसैलाई आधार बनाएर अहिले केही कपडा व्यवसायीहरुले आफनो कारोबार बढाउन उनीहरु लक्षित व्यापार गरिरहेको पाइएको हो। बजारमा यी उम्मेदवारको फोटो र निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी र अन्य सामग्री खुलेआम बिक्री–वितरण भइरहेको पाइएको हो।
केही पसलहरूमा त निर्वाचन चिन्हसहितका डिजाइन छापिएका टिसर्टहरू विशेष रूपमा सजाएर राखिएको भेटिएको छ। तर, यस्तो गतिविधि निर्वाचन आचारसंहिताविपरीत हो।
निर्वाचन आयोग नेपालले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ को परिच्छेद २ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा स्पष्ट व्यवस्था गरिएको छ। आचारसंहिताको बुँदा नम्बर ४ (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमका सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नहुने उल्लेख छ।
यस प्रावधानको उद्देश्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनु हो। आयोगले प्रचार–प्रसारलाई निश्चित दायराभित्र राखेर अनावश्यक प्रतिस्पर्धा, खर्च वृद्धि तथा मतदातामाथि प्रभाव पार्ने सामग्रीको प्रयोग नियन्त्रण गर्न खोजेको छ।
यद्यपि, धनगढीका मुख्य बजार क्षेत्रहरूमा उम्मेदवारको फोटो र चिन्ह अंकित सामग्री खुलेआम बिक्री भइरहेको दृश्यले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
धनगढीको मुख्य बजार, बसपार्क आसपास र केही चोकहरूमा राखिएका अस्थायी स्टल तथा कपडा पसलहरूमा उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्री भइरहेको भेटिएको छ। केही युवाहरूले यस्ता टिसर्ट लगाएर समूहगत रूपमा हिँडेको पनि देखिएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने, ‘हामीले ग्राहकको मागअनुसार सामग्री राखेका हौं। चुनावको बेला यस्ता सामान धेरै बिक्री हुन्छन्। प्रतिबन्धको बारेमा थाहा भए पनि कसैले आएर रोकेको छैन।’
प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्री–वितरण तथा प्रयोग गर्न नमिल्ने स्पष्ट पारे। उनका अनुसार आचारसंहिताविपरीत सामग्री बजारमा बिक्री भइरहेको पाइएमा अनुगमन गरी आवश्यक कारबाही गरिनेछ।
‘निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्छ। उम्मेदवार वा दलको चिन्ह तथा फोटो अंकित सामग्री उत्पादन र बिक्री गर्न पाइँदैन,’ उनले भने।
जिल्ला प्रशासन कार्यालय धनगढीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन संयोजक किरण जोशीले पनि यस्तो कार्य नगर्न सचेत गराएकी छन्। ‘यदि आचारसंहिताविपरीत सामग्री प्रयोग वा बिक्री गरिएको पाइएमा अनुगमन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ,’ उनले बताइन् । प्रशासनले निर्वाचन अवधिभर बजार अनुगमनलाई तीव्र बनाउने जनाएको छ ।
निर्वाचन विज्ञहरूका अनुसार चुनावी सामग्रीमार्फत गरिने प्रचारले असमान प्रतिस्पर्धा निम्त्याउन सक्छ। आर्थिक रूपमा सबल उम्मेदवारले ठूलो संख्यामा सामग्री उत्पादन गरी वितरण गर्दा कमजोर आर्थिक अवस्था भएका उम्मेदवारलाई प्रतिस्पर्धा गर्न कठिन हुन्छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा आयोगले चेतावनी, जरिवाना, प्रचार–प्रसारमा रोक, उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ। स्थानीय प्रशासनले बजार अनुगमन गरी आचारसंहिताविपरीत सामग्री जफत गर्न सक्छ। आवश्यक परेमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही समेत अघि बढाइने अधिकारीहरूले जनाएका छन्।
तर विगतका निर्वाचनहरूमा पनि आचारसंहिता उल्लङ्घनका घटनाहरू दोहोरिने गरेका छन्।